- कृष्ण प्रसाद भण्डारी (KP)
भन्छन् समयको गति हरेक व्यक्तिको लागि उसको परिस्थिति अनुसार फरक फरक हुन्छ । खुसीको समय छिटो सकिए जस्तो लाग्छ । त्यही समय अवधि दुःखमा परेकाको लागि लामो लाग्छ । स्कूलमा पढ्दा कहिले कलेज जान पाइएला जस्तो । कलेजमा कहिले पढाई सकिएर पैसा कमाउन पाइएला जस्तो । त्यसै गरी विवाह, बालबच्चा, पेशागत वृद्धि जस्ता कुराको प्रतिक्षा गर्दा गर्दै, एक पछि अर्को अभिलाषा कोट्याउँदा कोट्याउँदै, संघर्ष र उपलब्धीका पलहारु स्याहार्दा स्याहार्दै समय जांदो रहेछ । समय गएपछि भने तीता मिठा कुराको सारांश मात्र मानसपटलमा रहेर समय छिटो गयो जस्तो आभाष हुंदो रहेछ । सोही अनुसार विविध आरोह अवरोह र जीवनका भोगाई संगै पुल्चोक क्याम्पसबाट इन्जिनियरिंगमा स्नातक गरेर निस्केको पनि २५ वर्ष गैसकेछ ।
यस बीचमा अनेकन राजनीतिक व्यवस्था, तीन राजा, तीन राष्ट्रपति, अनेकन सरकार र प्रधान मन्त्री, मोबाइल समेत बन्द गरेको कडा शासन, सशस्त्र द्वन्द, विनाशकारी भु-कम्प, १८ घण्टा सम्मको विजुली कटौति, अनगिन्ती हडताल र बन्द आदिको सामना गर्दै समय वित्यो, कहिले दिक्क भएर, कहिले आशावादी भएर, कहिले निराश र थकित भएर । तर जसरी पनि समय बित्दो रहेछ, बित्यो ।
काठमाडौंको कांठमा जन्मिएको मेरो शिक्षा गोकर्णेश्वर मन्दिर नजिकको सरकारी स्कूलमै भयो र अमृत साइन्स कलेजबाट आइएस्सी सकियो । कता कता इलेक्ट्रोनिक्स पढ्नुपर्छ भन्ने दिमागमा छिरेछ र संयोगबस पुल्चोक क्याम्पसमा त्यो प्रोग्राम शुरु हुन लागेको रहेछ । एक वर्ष बिएस्सी पढ्दै कुरेरै भएपनि प्रवेश परीक्षा दिएं । नाम निस्किने अपेक्षा थिएन । तर क-कस्को निस्किएछ भनेर हेर्न गएको त १८ नम्बरमा आफ्नो पनि नाम छ ! त्यही दिन नै भर्नाको अन्तिम दिन रहेछ । भर्ना नभए वैकल्पिकले पड्काउने ! आफूले छानेको विषय भएकोले छोड्ने त प्रश्नै भएन । तर न गोजिमा पैसा थियो न कागज पत्र । त्यो समयमा न मोबाइल थियो न यातायातको आफ्नो साधन । भाग्यवस बुबाको कार्यालय त्यति टाढा थिएन । हतार हतार गएर बोलाएर ल्याई भर्ना शाखामा कुरा गर्न लगाएपछि भर्ना भएं । ठूलो कलेज परिसर, प्रशस्त खुल्ला ठाउँहरु, बंगैचा, चौर, परिसर भित्रै कालो पत्रे सडक, ठूला ठूला रुखहरु आदिको कारण पुल्चोक क्याम्पसमा शुरुमा जाँदा त अर्कै संसारमा पुगेजस्तो पनि अनुभव भयो ।
कहिले पढाई, कहिले ल्याब, कहिले भवन वाहिरको बगैचामा इंटले भनेका बेन्चका रमाईला गफ, पिकनिक, टूर आदिमा अनेकन रमाईला पलहरु विते । हेर्दा हेर्दै ४ वर्षपछि २०५५ सालमा पढाई सकियो । केहि साथिहरु पढाइकै क्रममा ‘एनटिसिमा जागिर खानुपर्छ बुझिस्’ भन्थे । जागिरतिरै मन गयो । त्यो पनि एनटिसि अर्थात त्यतिवेलाको दूरसञ्चार संस्थान र हालको नेपाल टेलिकममा । व्यापार, उद्यम, व्यवसाय सायद आफ्नो नियतिमा थिएन । २०५६ सालमा दूरसञ्चार प्रवेश गर्नुअघि १ वर्ष जति एकजना गुरुको कम्पनीमा सिकारु काम पनि भयो । त्यो समय पनि सिकाई, अनुभव र कामको विविधताको कारण साह्रै फलदायी रह्यो ।
जागिर शुरु भएपछि विभिन्न शाखा, विभाग, क्षेत्र त हुने नै भयो । तथापि सूचना प्रविधि शाखामा अधिकांश समय बित्यो र त्यो पनि काठमाडौ उपत्यका भित्रै वाहिर खास बस्नु परेन ।
१-२ वर्ष जागिर हुँदा नहुँदै साथिहरु फटाफट विदेश जान थाले । त्यतिवेला अमेरिकाको विशेष क्रेज थियो । कक्षाका अधिकांश साथिहरु क्रमशः विदेशिए । अमेरिकाको एउटा कलेजको I-20 अझै पनि सुरक्षित छ । तर विदेश जाने जांगर चलेन । त्यसपछि विवाह, वालबच्चा, जागिर आदि स्वाभाविक वृत्तिमै जीवन अघि बढ्यो । हाल पहिलो छोरा इन्जिनियरिंग नै गर्दैछ र सानो ८ कक्षामा ।
सार्वजनिक संस्थामा काम गर्दाका तीता मिठा दुबै पक्ष छन् । तथापि नेपाल टेलिकम सार्वजनिक संस्था पनि र प्रतिस्पर्धी वजारमा व्यापार गर्नुपर्ने व्यावसायिक संस्था पनि भएकोले यसले विशेष खालको परिस्थितिमा आफ्नो गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ । पारदर्शिता कायम गर्नुपर्ने, उच्च मुनाफा हासिल पनि गर्नुपर्ने र सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्ने, राजनीतिक प्रचारवाजीको हतियार पनि बन्नु पर्ने र आधुनिक पेशागत संस्थाको क्षमता पनि देखाउनु पर्ने, प्राविधिक विकासको कारण छिटो छिटो उच्च लगानी पनि गर्नुपर्ने र परम्परागत राजस्वको श्रोतहरु पनि सांघुरिंदै जाने आदि अनेकन चुनौतिहरुका बीच काम गर्दै संस्थाको व्यवस्थापनको सदस्य हुने हैसियत सम्म आइपुग्दा स्वाभाविक रुपले धेरै अनुभव हरु जम्मा भएका छन् ।
यस बीच पुल्चोक क्याम्पस संगको सम्बन्ध पनि टुटेको छैन । सन् २००३ देखि २००६ सम्म स्नातकोत्तरको पढाइ पनि त्यहिं नै सकियो । त्यसको अलावा केही समय आंशिक शिक्षकको रुपमा पनि योगदान दिने अवसर मिल्यो र समय समयमा नयां विद्यार्थिहरुको प्रोजेक्ट, थेसिस आदिको वाह्य मूल्यांकनकर्ताको रुपमा पनि कलेजले कामको अवसर दिंदै आएकोले पनि कलेजसंगको सम्बन्ध र त्यसबाट प्राप्त हुने उर्जाले निरन्तरता पएको छ ।
काम गराई, कमाई, पढाई आदि जति भए पनि, परिवार जस्तो भए पनि र सामाजिक रुपमा जति सफल वा असफल भए पनि २-४ जना मात्रै पनि त्यति वेलाका साथि संगाती भेला भएर गन्थन गर्दा, सुख-दुखका कुरा गर्दा र हो-हल्ला गरी खुइलिएको तालु, चाउरिन थालेको गाला, निरन्तर दुख्ने जोर्नीहरु र खल्लो हुँदै गएको खानपानलाई थाति राखेर आफ्नो तन्नेरी अवस्थालाई पुनर्जीवित गर्दाको आनन्द भने अन्यत्र कतै प्राप्त नहुने रहेछ ।