Back to Articles

Shalik Panthi

- Shalik Panthi

कहाँबाट कहाँ आइयो, अनि के–के गरियो, धेरै छन् ती कुराहरू। मलाई ASCOL (Amrit Science College) मा पढ्नुपर्छ भन्ने ठूलो चाहना थियो। त्यसका लागि स्कुल पढ्दा Optional Math & English राम्रोसँग पढ्नुपर्छ भन्ने थियो। अरू विषयहरू त सायद मैले घर आएर कहिल्यै पढिन होला। २०४६–४७ सालतिर चिदीचौरमा, स्कुलको अगाडि, भाषण गर्ने एक जना विद्यार्थी नेता मन पर्थ्यो। अनि उनी ASCOL पढेका रहेछन्, सायद त्यसैको प्रभाव होला, मलाई पनि ASCOL जान मन लागेको।

काठमाडौँ पनि आइयो। ASCOL मा त नाम निस्किएन, तर त्रिचन्द्र कलेजमा मुस्किलले भर्ना हुन पाएँ । Science का Teacher हरूले कहिले English मा कहिले नेपालीमा पढाउँदा रहेछन्, मलाई त निकै गाह्रो भयो र फेरि अर्को वर्ष दोहोर्‍याउनु पर्ने भयो। अर्को वर्ष ASCOL मा चान्स पाएँ र पुल्चोक Engineering कलेजको यात्राको बाटो खुल्यो।

अहिले सम्झन्छु, म सायद १७ वा १८ वर्षको थिएँ। काठमाडौँमा डेरा खोज्नै मुस्किल, बा–आमा छोडेर एक्लै बस्नु पर्ने, आफैँ पकाएर खानुपर्ने, अझ त्यसमाथि त्यतिबेलाको पानीको समस्या। सामाखुसी बस्दा एक ग्याल‍न खाने पानी ल्याउन अरूको घरमा गएर ३–४ घण्टा कुर्नु पर्ने, अनि त्यसैले २–३ दिनलाई पुर्‍याउनु पर्ने। सीमित स्रोत, चञ्चल युवावस्था, अनि आफ्नै एकल व्यवस्थापनको दिनचर्या… बापत Doctor बन्ने सपना।

एक–दुई महिना MBBS को preparation class गर्दा नै मलाई मेरो औकात के हो थाहा पाएँ। अनि त्यसपछि पुल्चोक क्याम्पसको लागि भनेर खोलिएको Entrance Preparation Center मा ठोक्किन पुगेँ। जहाँ फेरि उही स्वतन्त्र सरको Physics र पालक सरको Chemistry मा दिशा–दिक्षा पाइयो। तर यसपालि म भित्र निक्कै जागर थियो, Math मा निकै राम्रो preparation थियो, जसले गर्दा Pulchowk को Entrance Exam मा Top 9 भित्रै परेँ। Civil पढेर के हुन्छ भन्ने देखेको र सुनेकै चाहिँ थिएँ, Mechanical पढेर गाडी मर्मत गर्ने इच्छा त्यति थिएन। तर Electronics भन्ने जन्तु के हो, कस्तो हुन्छ, के हुन पाइन्छ—केही अत्तोपत्तो थिएन। कसै–कोही सल्लाह दिने मान्छे पनि थिएनन्। यसै एक नम्बरको रोजाइमा राखेको थिएँ।

जब नाम निस्कियो, त्यसपछि त कत्तिनै ठूलो कुरा हात पारे जस्तो! जिल्ला भरी चिनिने, अब त देशलाई नै Electrify गर्छु जस्तो! अनि अलि बढी आत्मविश्वास, अलिकति पढाइमा लापरवाही भएछ। र त मुस्किलले पहिलो वर्ष exam पास गरेँ।

ज्योति सरले पढाउनु भएको Binary Logic र Digital Electronics; दिपक सरको Microprocessor, रेग्मी सरको Digital Filter त मैले पछि बुझे, जब मैले WRC मा त्यही कुरा ३ वर्ष पढाएँ। दिनेश सरको Communication त मलाई मन पर्ने subject नै थियो। त्यही भएर त होला, म Nepal Telecom मा फ्याट्ट नाम निकाल्न सफल भएँ 2003 तिर। पुल्चोक पढ्दा त के मात्र गरिएन हो ! BELEX building को छतबाटै आन्दोलनको बेला ढुङ्गा उठाई सहभागि भईएन कि ! पाटन ढोका वरपरका कुनै होटल बाँकी छैनन् होला, हामी नपुगेको—जब exam सकिएको हुन्थ्यो। India tour लाई पैसा जम्मा गर्न musical concert—अनि त्यही concert को टिकट भिडाउन कहाँ पुगिएन र! उहिलेकै सभामुख, तर अहिलेका राष्ट्रपति कहाँ; सरकारी कार्यालय, व्यवसायी घरानासम्म सबै कहाँ।

India tour गएका बेला हामी पाँच जना—दिपक, मिष्म, कमल, मनोज र म—शिर मुन्डन गरी, कालो चस्मा र छड्के क्याप लगाएर, ट्रेनमा आएका “हिजरा” सँग नाचिएन कि! होस्टेल बस्दा बरालको कोठामा प्रकाशलाई सर्वाङ्ग खुला हुने गरी नाचिएन कि! अन्त्यमा Graduation को पार्टी त छुटाउनै भएन नि—Basketball Court मा आयोजना भएको पार्टी। अनि नशालु निद्राले सिस्नोको घारीमा कटेको रातको मज्जा कसरी बिर्सनु हो ?

यिनै उट्पट्याङ क्रियाकलाप र घटनाहरू त रहेछन्, २५ वर्षपछि पनि सम्झिरहने। यो भन्दा पनि अझ कत्तिःकति धेरै सम्झनाहरू छन्—गुरुहरूको, ती Campus का building हरूको, पाङ्ग्रे घर, निरौला दाइकोमा चाउचाउ खाएको, अनि मेसमा खाना खाँदा खसीको झोलमा चोक्टा पर्दा खुशी भएका क्षणहरू—जसले उर्जा दिइरहेको छ, यति टाढा अमेरिकामा १६–१७ वर्ष बसिरहँदा पनि।